बर्डफ्लु रोकथामको लागि एक्सनमा अशोक चौधरी

samayawaz.com

सुनसरी, इनरुवा — इनरुवास्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बर्डफ्लु संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कुखुरापालक कृषकहरूसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अशोक कुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरीको अध्यक्षता रहेको थियो।

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा H5N1 तथा H9N2 जस्ता प्राणघातक बर्डफ्लु संक्रमण देखिन थालेपछि यसको नियन्त्रण, रोकथाम र प्रभावित कृषकको संरक्षणबारे गम्भीर छलफल भएको हो।

कार्यक्रममा सहभागी कृषकहरूले पछिल्लो समय बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको गुनासो गरेका थिए। उनीहरूका अनुसार संक्रमणका कारण कुखुरा नष्ट गर्नुपर्दा उत्पादन चक्रमा अवरोध आएको छ भने लगानी समेत जोखिममा परेको छ। यसले स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पार्दै बेरोजगारी वृद्धि र आयआर्जनमा गिरावट ल्याउने सम्भावना औंल्याइएको छ। कृषकहरूले यस अवस्थाले दीर्घकालीन रूपमा राज्यको समग्र आर्थिक वृद्धिदर (जीडिपी) मा समेत प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।

अन्तरक्रियामा कृषकहरूले हाल H5N1 संक्रमणमा मात्र उपलब्ध रहेको क्षतिपूर्तिको व्यवस्था H9N2 मा समेत लागू गर्नुपर्ने माग राखेका थिए। उनीहरूले रोगको प्रकृति र प्रभाव दुवै गम्भीर रहेको उल्लेख गर्दै समान नीतिगत व्यवहार आवश्यक भएको जोड दिएका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले कृषकको समस्याप्रति सरकार गम्भीर रहेको बताउँदै प्रभावकारी नियन्त्रण रणनीति, शीघ्र क्षतिपूर्ति तथा दीर्घकालीन पशु स्वास्थ्य सुरक्षाका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। अध्यक्षता गरिरहनुभएका मन्त्री मन्सुरीले पनि सरोकारवालाबीच सहकार्य बढाएर संक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।

विशेषज्ञहरूले बर्डफ्लु जस्ता संक्रामक रोग नियन्त्रणका लागि समयमै पहिचान, जैविक सुरक्षा (biosecurity) उपायहरूको कडाइका साथ पालन, र राज्य तथा कृषकबीच समन्वय अपरिहार्य रहेको औंल्याएका छन्। कार्यक्रमले रोग नियन्त्रणसँगै कृषकको जीविकोपार्जन संरक्षण गर्ने नीतिगत बहसलाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया