सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न स्थानहरूबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। जेष्ठ १८ गते चेक जाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपालिका ६ स्थितबाट भारत किसनगञ्जका युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका ४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउनसुगर नियन्त्रणमा लिएको हो। यसैगरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ३ र रंगेली नगरपालिका ४ चोप्राहाबाट इलाका प्रहरी कार्यालय रङ्गेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले रङ्गेली १ का सुदिप भट्टराईलाई ३ ग्राम ब्राउन सुगरसहित र उर्लाबारि ४ का अभिषेक कार्की, बेलबारी दुई का नवीन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। साथै सुन्दर हरैचा नगरपालिका ७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ। त्यसैगरी चेक जाँचको क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान १७ भोला राईलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।