हामी निश्चिन्त सुत्न सक्छौं भने, त्यो प्रहरीहरूको जाग्रामको परिणाम हो।

samayawaz.com

सडकमा आन्दोलन चर्किन्छ। भीड कराउँछ, नाराबाजी गुञ्जिन्छ। त्यही भीडको अगाडि उभिएका हुन्छन् प्रहरी - न तालीको अपेक्षा, न सहानुभूतिको आशा। उनीहरू केवल आफ्नो कर्तव्यमा अडिग हुन्छन्।


ढुङ्गा वर्षिन्छ, अपशब्द वर्षिन्छ। तर त्यो प्रहार केवल शरीरमा मात्र लाग्दैन, त्यो मनमा पनि चोट दिन्छ। तर पनि उनीहरू पछि हट्दैनन्। किनकि उनीहरूको जिम्मेवारी केवल आदेश पालना गर्नु मात्र होइन - समाजलाई सुरक्षित राख्नु हो।


हामी मध्ये धेरैलाई लाग्छ, प्रहरीको काम आन्दोलनमा उभिनु मात्र हो। तर वास्तविकता बिल्कुल फरक छ। रातको गहिरो अन्धकारमा, जब शहर निदाइरहेको हुन्छ, त्यही बेला प्रहरी टोल-टोलमा गस्ती गरिरहेको हुन्छ। हामी निश्चिन्त सुत्न सक्छौं भने, त्यो उनीहरूको जाग्रामको परिणाम हो।


कुनै झैझगडा भयो भने - “प्रहरी बोलाऊ।”

कुनै चोरी भयो भने - “प्रहरीलाई खबर गर।”

कुनै दुर्घटना भयो भने - “पहिला प्रहरीलाई फोन गर।”


हामी समस्यामा पर्दा सम्झने पहिलो नाम - प्रहरी।

तर शान्ति हुँदा बिर्सिने पहिलो समूह पनि - प्रहरी।


आन्दोलनका बेला उनीहरूलाई गाली गर्ने, ढुङ्गा हान्ने हामी नै हौं। तर समस्या पर्दा दौडिएर सहयोग माग्ने पनि हामी नै हौं। यो विरोधाभासले नै प्रहरीको पीडा झन गहिरो बनाएको छ।


प्रहरी पनि मान्छे हुन्। उनीहरूको पनि परिवार छ, सपना छ, भावना छ। तर उनीहरूले आफ्नो व्यक्तिगत जीवनभन्दा माथि राखेका छन् - कर्तव्य।


सवाल उठ्छ ???

यदि उनीहरू नहुने हो भने, के हाम्रो समाज यत्तिकै सुरक्षित रहन्थ्यो?


समय आएको छ, प्रहरीलाई केवल आलोचनाको दृष्टिले होइन, सम्मानको दृष्टिले पनि हेर्ने। किनकि उनीहरू केवल पोशाकधारी कर्मचारी होइनन् - उनीहरू हाम्रो सुरक्षाको पहिलो ढाल हुन्। ढुङ्गा सहेर पनि उभिनेहरूलाई कम्तीमा शब्दले सम्मान गरौं।


प्रतिक्रिया