नेपाली कांग्रेसका युवा नेता राजु मास्केले आगामी केही दिनसम्म हुन सक्ने अवितरल वर्षाका कारण विराटनगरसहित देशका विभिन्न क्षेत्रमा बाढी, डुबान, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनाहरू बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
विशेषगरी तराई क्षेत्रअन्तर्गत पर्ने विराटनगरमा वर्षासँगै डुबानको जोखिम उच्च रहेको र त्यसले जनधनको क्षतिसँगै जनजीवनमा प्रत्यक्ष असर पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उहाँले संघीय, प्रदेश तथा स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय, स्वास्थ्य संस्था तथा सरोकारवाला सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
युवा नेता मास्केले सम्भावित विपद्को सामना गर्न पूर्वतयारी नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै उच्च जोखिमयुक्त क्षेत्रहरूको समयमै पहिचान गरी पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। साथै, उद्धार तथा राहत कार्यका लागि आवश्यक सामग्री, उपकरण र दक्ष जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा सुरक्षित आश्रयस्थलहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
उहाँले विपद्को समयमा स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा खाद्यान्नको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। बाढी तथा डुबानका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै स्वास्थ्य संस्थाहरूलाई आवश्यक औषधि, स्वास्थ्यकर्मी तथा आपत्कालीन सेवाको व्यवस्थापनमा विशेष तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
त्यसैगरी, प्रभावित नागरिकले विपद्को समयमा सहज रूपमा उद्धार, राहत तथा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको छ। विपद्को अवस्थामा सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय तह तथा नागरिक समाजबीचको समन्वयले मात्रै क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको विश्वास छ।
राज्यको पहिलो दायित्व नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्नु भएकाले सम्भावित बाढी, डुबान तथा पहिरोबाट हुन सक्ने क्षतिलाई न्यूनतम बनाउन आवश्यक तयारी, सतर्कता र सक्रियतामा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायले विशेष ध्यान दिनुपर्ने युवा नेता राजु मास्केको भनाइ छ।
उहाँले विपद् आइपरेपछि मात्रै सक्रिय हुने परम्परागत शैलीभन्दा विपद् आउनुअघि नै आवश्यक तयारी र पूर्वसतर्कता अपनाउनु नै प्रभावकारी विपद् व्यवस्थापनको आधार भएको उल्लेख गर्नुभएको छ। साथै, नागरिकहरूलाई पनि अफवाहमा विश्वास नगरी आधिकारिक सूचनालाई आधार बनाउन, जोखिमयुक्त स्थानबाट सतर्क रहन तथा आवश्यक परेमा स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ।
“नागरिकको सुरक्षा, जनजीवनको संरक्षण र सम्भावित क्षतिको न्यूनीकरणका लागि सबै निकायबीच प्रभावकारी समन्वय, पूर्वतयारी र तत्परता अपरिहार्य छ,” भन्दै युवा नेता राजु मास्केले विपद् व्यवस्थापनलाई सर्वोच्च प्राथमिकतामा राखी आवश्यक कदम चाल्न सम्बन्धित निकायसमक्ष आग्रह गर्नुभएको छ।