विराटनगर, साउन २ गते । कोशी प्रदेश प्रहरीले लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट पाँच जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर ३४ ग्राम २८० मिलिग्राम, ट्रामाडोल तथा अन्य लागूऔषधका १८६ ट्याब्लेट, २७ क्याप्सुल र एउटा स्कुटी बरामद गरिएको छ।
झापाको बिर्तामोड नगरपालिका–५ मा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतको पश्चिम बंगाल निवासी ३४ वर्षीय कमल बर्मनलाई ३१ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
त्यसैगरी मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले ४५ वर्षीय अवित राईलाई ३ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय बेल्टारले गोपाल खड्कालाई ट्रामाडोल १५९ ट्याब्लेट सहित पक्राउ गरेको छ।
यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरौलको संयुक्त टोलीले प्र.१–०२–०४६ प २३३३ नम्बरको स्कुटीमा सवार बराहक्षेत्र–४ का विक्रम विश्वकर्मा र अर्का एक जनालाई ट्रामाडोल २७ क्याप्सुल र स्पास्पेन २७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, लागूऔषध नियन्त्रण, जनचेतना अभिवृद्धि र दुव्र्यसन न्यूनीकरणका अभियानलाई प्रदेशभर निरन्तरता दिइने कोशी प्रदेश प्रहरीले जनाएको छ।