विद्यार्थीको भविष्यसँग खेलवाड : प्रवेश परीक्षा र छात्रवृत्ति नतिजाबीचको अन्योल भएको नेपाली कांग्रेसका यूवा नेता राजु मास्केको गम्भीर ध्यानाकर्षण भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा प्रकाशित भएपछि विद्यार्थीहरू उच्च शिक्षाका लागि विभिन्न कलेजमा भर्ना प्रक्रिया सुरु गर्छन्। अधिकांश कलेजहरूले भर्ना लिनुअघि प्रवेश परीक्षा (Entrance) सञ्चालन गर्ने गरेका छन्। विद्यार्थीहरूले आफ्नो रुचि र क्षमता अनुसार विभिन्न कलेजमा प्रवेश परीक्षा दिने गर्छन्। कतिपय विद्यार्थी एक कलेजको प्रवेश परीक्षामा नाम निकाल्न सफल हुन्छन् भने उनीहरूले सरकारी वा अन्य संस्थाले सञ्चालन गर्ने छात्रवृत्ति परीक्षामा पनि सहभागी हुन्छन्।
तर, यहाँ एउटा गम्भीर समस्या देखिन्छ। धेरैजसो अवस्थामा कलेजहरूको भर्ना प्रक्रिया र छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक हुने समयबीच समन्वय हुँदैन। कलेजले भर्नाको अन्तिम मिति तोकिसक्दा छात्रवृत्तिको नतिजा आइसकेको हुँदैन। यस्तो अवस्थामा विद्यार्थीहरू अन्योलमा पर्छन्। यदि विद्यार्थीले तत्काल भर्ना गरेन भने कलेजले पछि भर्ना लिन अस्वीकार गर्न सक्छ। अर्कोतर्फ, यदि उसले भर्ना गरिसकेको अवस्थामा छात्रवृत्तिमा नाम निस्कियो भने आर्थिक रूपमा अनावश्यक भार पर्न सक्छ।
झन् समस्या तब उत्पन्न हुन्छ, जब विद्यार्थी छात्रवृत्ति परीक्षामा असफल हुन्छ र पहिले नाम निकालेको कलेजमा पुनः भर्ना हुन जाँदा कलेजले भर्ना लिनं अस्वीकार गर्छ। यसले विद्यार्थीलाई अध्ययनबाटै वञ्चित हुने जोखिम सिर्जना गर्छ। यस्तो अवस्था विद्यार्थीको भविष्यप्रति अन्यायपूर्ण र गैरजिम्मेवार व्यवहार हो।
यस समस्याको समाधानका लागि सम्बन्धित निकायले छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्र कलेजहरूको अन्तिम भर्ना प्रक्रिया सम्पन्न हुने व्यवस्था गर्नुपर्छ। साथै, छात्रवृत्ति नतिजा नआएसम्म विद्यार्थीको सिट सुरक्षित राख्ने नीति लागू गरिनुपर्छ। शिक्षा प्रणाली विद्यार्थीमैत्री, व्यवस्थित र समन्वयात्मक हुन सके मात्र विद्यार्थीको भविष्य सुरक्षित रहन्छ। त्यसको समाधानकोलागी सम्बन्धित निकायको ध्यान जाओस।