इटहरी /सुनसरी। " बालबालिकामा लगानी सुनिश्चित भविष्यको सुरुवात" भन्ने मूल नारा सहित सुनसरीको इटहरीमा आयोजना गरिएको बालअधिकार तथा बालविवाह अन्त्यसम्बन्धी प्रदेश स्तरीय दुई दिने कार्यशाला सम्पन्न भएको छ। नीतिगत प्रतिबद्धता सहकार्य र व्यवहारिक कार्यान्वयन बीच समन्वय सुदृढीकरण गर्ने उद्देश्यले आयोजित कार्यशालाले ठोस प्रतिबद्धासहित इटहरी घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्र बाल अधिकार परिषद् तथा ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्ड सुनसरीको आयोजनामा सम्पन्न कार्यशालामा सुनसरी मोरङ झापा र ताप्लेजुङ जिल्लाका १८ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष, जनप्रतिनिधि, कार्यालय प्रमुख, बालकल्याण अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन फरवार्ड संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री भगवती चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि स्थानीय तहहरूको भूमिकालाई अझ परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले कार्यशालबाट निष्कर्षहरूलाई व्यवहारमा उतार्नु नै जिगो उपलब्धि हुने धारणा व्यक्त गर्नुभयो।