नेपाली कांग्रेस युवा नेता राजु मास्के जनताको आधारभूत समस्या यथावत् राखेर केवल आकर्षक र चर्चित आयोजना ल्याउनु दूरदर्शी राजनीति होइन।

samayawaz.com

प्रश्न सम्बन्धित निकायसँग 

विराटनगरमा पोडवे सञ्चालनका लागि करिब ६ अर्ब रुपैयाँ लगानीको चर्चा भइरहेको सन्दर्भमा केही गम्भीर प्रश्न सम्बन्धित निकायसँग! 


विकासको नाममा ठूला र आकर्षक परियोजना ल्याउनु राम्रो कुरा हो। तर, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत आवश्यकता पूरा नगरी केवल महत्वाकांक्षी परियोजनालाई प्राथमिकता दिनु उचित हुँदैन। विकास जनताको आवश्यकता, शहरको अवस्था र दीर्घकालीन लाभका आधारमा तय हुनुपर्छ, केवल राजनीतिक प्रचार वा लोकप्रियता हासिल गर्ने माध्यम बन्नु हुँदैन।


पहिला मेन रोडका सडक पेटी व्यवस्थित गरौँ। हिमालय रोडको संरचनामा सुधार गरौँ। महेन्द्र चोकलाई आधुनिक र आकर्षक बनाऔँ। धरान रोडलाई व्यवस्थित गरौँ। बिग्रिएका ट्राफिक लाइट मर्मत गरौँ, सडक बत्तीको उचित व्यवस्था गरौँ, व्यापक वृक्षारोपण गरौँ, सरसफाइ र सौन्दर्यीकरणमा विशेष ध्यान दिऔँ।


आवश्यक स्थानमा ओभरहेड ब्रिज निर्माण गरौँ। सिटी बस सञ्चालन गरौँ। कञ्चनबारी–खार्जी क्षेत्रमा नयाँ बसपार्क निर्माण गरौँ। बन्द  उद्योग पुनः सञ्चालन गरौँ। रिङरोडलाई पूर्णता दिऔँ। युवाका लागि गुणस्तरीय इन्जिनियरिङ र आईटी कलेज स्थापना गरौँ। शहरको बाहिरी क्षेत्रमा थीम पार्क तथा वाटर पार्क निर्माण गरौँ।


६ अर्ब रुपैयाँ सानो रकम होइन। यस्तो ठूलो लगानी गर्दा जनप्रतिनिधिहरूले जनतासँग खुला छलफल, विज्ञहरूको सुझाव र लागत लाभ विश्लेषणलाई प्राथमिकता दिनुपर्छ। अन्यथा, विकासको नाममा जनताको करको रकम खर्च गरेर राजनीतिक स्टन्ट प्रस्तुत गर्ने प्रवृत्तिले शहरलाई दीर्घकालीन लाभभन्दा बढी बोझ थप्न सक्छ।


वास्तविक विकास त्यो हो, जसले जनताको दैनिक जीवन सहज बनाउँछ। जनताको आधारभूत समस्या यथावत् राखेर केवल आकर्षक र चर्चित आयोजना ल्याउनु दूरदर्शी राजनीति होइन। सुशासन, प्राथमिकताको सही छनोट र जनउत्तरदायी नेतृत्व नै समृद्ध विराटनगर निर्माणको आधार हो। यस विषयमा समन्धित निकायको ध्यान जाओस।

प्रतिक्रिया