मत्स्यपालन आधुनिकीकरणका लागि सरोकारवालाबीच समन्वय बैठक

samayawaz.com

विराटनगर — नेपालमा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषकको बजार र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सरोकारवालाहरूसँगको समन्वय बैठक विराटनगरमा आयोजना गरिएको छ।


ग्रामीण महिला उत्सुकता विकास मञ्च (FORWARD) को आयोजनामा बुधबार विराटनगरस्थित होटल स्वागतम्मा आयोजित बैठकमा सरकारी निकाय, स्थानीय तह, वित्तीय संस्था, निजी क्षेत्र, मत्स्य कृषक, प्राविधिक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।


बैठक नेपालमा मत्स्यपालन आधुनिकीकरण परियोजना (Modernizing Aquaculture in Nepal Project) अन्तर्गत आयोजना गरिएको हो। अमेरिकी कृषि विभागको Food for Progress Program को आर्थिक सहयोग तथा Lutheran World Relief (LWR) को कार्यान्वयनमा सञ्चालित परियोजना डिसेम्बर २०२५ देखि नोभेम्बर २०२८ सम्म सञ्चालन हुनेछ। परियोजनाले देशका १४ जिल्लाका ९ हजार ५०० मत्स्य कृषक तथा ५०० सरोकारवालालाई लक्षित गरेको छ।


परियोजनाअन्तर्गत FORWARD ले सुनसरी र मोरङ जिल्लामा कार्यान्वयन साझेदारका रूपमा काम गरिरहेको छ। पहिलो वर्ष सुनसरीका इटहरी, गढी, बर्जु, दुहबी र इनरुवा तथा मोरङका धनपालथान र रंगेलीमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।


परियोजनाले मत्स्य कृषक समूह गठन, प्रदर्शन पोखरी स्थापना, आधुनिक तथा स्वचालित प्रविधिको प्रयोग र प्रदर्शन, वित्तीय सेवामा कृषकको पहुँच विस्तार, बजार तथा बजारीकरण सेवा, खाद्य सुरक्षा तथा गुणस्तर र सूचना तथा प्राविधिक परामर्श सेवामा पहुँच बढाउने विषयलाई प्राथमिकतामा राखेको छ।


बैठकमा मत्स्यपालन क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, वित्तीय संस्था, निजी क्षेत्र र कृषकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूबाट प्राप्त सुझाव र अनुभवका आधारमा परियोजनाको कार्यान्वयनलाई थप प्रभावकारी, व्यावहारिक तथा परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।


कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले मत्स्य कृषकको उत्पादन, प्रविधि, बजार र वित्तीय पहुँच सुधारका लागि आवश्यक सहयोग तथा सहकार्यमा जोड दिँदै परियोजनाको उद्देश्य प्राप्तिका लागि सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया