बिराटनगर , रानी नाकामा क्वारेन्टाइनबिनाको डेढ सय किलो आँप सशस्त्र प्रहरीद्वारा नष्ट
विराटनगर । भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी नेपाल भित्र्याउँदै गरेको करिब डेढ सय किलो आँप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल, रानी बीओपीको टोलीले भारतबाट चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा आँप नियन्त्रणमा लिएको हो। आवश्यक कानुनी तथा कारबाही प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको आँप नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार नष्ट गरिएको आँपको अनुमानित मूल्य करिब ३० हजार रुपैयाँ बराबर रहेको छ। क्वारेन्टाइन परीक्षण तथा आवश्यक प्रक्रिया पूरा नगरी भित्र्याइएका खाद्य वस्तुले सर्वसाधारणको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भएकाले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ।
रानी नाकाबाट हुने चोरीपैठारी नियन्त्रणसँगै अखाद्य तथा असुरक्षित खाद्य वस्तुको आयात रोक्न निगरानी थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।